काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा उपसमितिका संयोजक तोकेको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको प्रतिष्ठानमा विभिन्न विषयगत उपसमिति गठन गरी जिम्मेवारी तोकिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
सभापति गगनकुमार थापाको उपस्थितिमा बुधबार साँझ सम्पन्न प्रतिष्ठानको तेस्रो बैठकले जिम्मेवारी तोकेको हो ।
निर्णयअनुसार विभिन्न सात क्षेत्रका लागि निम्न व्यक्तिहरूलाई संयोजकको जिम्मेवारी दिइएको छ।
अर्थ, योजना तथा नीति उपसमितिको संयोजकमा प्रा. डा. गोविन्दराज पोख्रेल तोकिएका छन्। यो उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा नीतिगत सुझाव तयार गर्नेछ।
जलवायु परिवर्तन सचेतना उपसमितिको नेतृत्व रोशनी गिरीले गर्नेछिन्। यसले हिमाली क्षेत्रका जलवायु प्रभाव न्यूनीकरणदेखि वातावरण संरक्षणका विविध पहल समेट्नेछ।
नवयुवा मुद्दा, अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति मीनबहादुर भामको नेतृत्वमा रहनेछ। यसले युवा पुस्ता, नागरिक समाज तथा विभिन्न पुस्ताबीचको संवाद र समन्वयमा केन्द्रित काम गर्नेछ।
अनौपचारिक क्षेत्रका श्रमिकसम्बन्धी नीति तथा न्याय उपसमितिको संयोजक महेन्द्र यादव तोकिएका छन्।
बाल अधिकार उपसमितिको जिम्मेवारी उमंग लोहनीलाई दिइएको छ। यसले बाल श्रम नियन्त्रणदेखि बालबालिकाको समग्र अधिकार संरक्षणका विषयमा काम गर्नेछ।
सार्वजनिक सेवा प्रवाहसम्बन्धी नीति तथा सुधार उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल चयन भएका छन्।
त्यसैगरी गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको नेतृत्व अञ्जु झालाई दिइएको छ।
उपसमितिका संयोजकहरुलाई आफूलाई दिइएको क्षेत्रबारे अध्ययन अनुसन्धान गरी आगामी चौथो बैठकमा अवधारणा र कार्ययोजना प्रस्तुत गर्न भनिएको छ ।