काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर इद (इद–उल–अज्हा) का अवसरमा सरकारले आजदेखि सार्वजनिक बिदा दिएको छ। यससँगै देशभर लगातार चार दिन सार्वजनिक तथा साप्ताहिक बिदा परेको छ।
गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै २०८३ जेठ १४ गते बिहीबार बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार उक्त दिन बकर इद परेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर इद परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ जेठ १४ गते सार्वजनिक बिदा हुने भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।”
गृह मन्त्रालयले बकर इदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै पर्वले धार्मिक सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाओस् भन्ने कामना पनि गरेको छ।
बकर इदको भोलिपल्ट अर्थात् जेठ १५ गते शुक्रबार गणतन्त्र दिवस परेकाले त्यस दिन पनि सार्वजनिक बिदा हुनेछ। त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा परेकाले यो साता लगातार चार दिन बिदा परेको हो।
लगातारको बिदाका कारण सरकारी कार्यालय, बैंक तथा शैक्षिक संस्था चार दिनसम्म बन्द रहनेछन् भने आन्तरिक पर्यटन र यात्रु चाप बढ्ने अनुमान गरिएको छ।