धादिङ । धादिङमा करेन्ट लागेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका–४, रायटारमा आइतबार दिउँसो करिब १ः३० बजे सो दुर्घटना भएको हो ।
नीलकण्ठ नगरपालिका–८, रामकोट घर भई हाल रायटार बस्दै आएका सुजन श्रेष्ठकी ६ वर्षीया छोरी साया श्रेष्ठ आफ्नै घरको तेस्रो तलामा खेल्ने क्रममा हाईटेन्सन लाइनको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।
प्रहरीका अनुसार घर सफा गर्ने पोछा हाईटेन्सन तारमा छुन पुग्दा अचानक सटभई आगलागी भएको थियो । सो क्रममा बालिकाले लगाएको कपडामा आगो सल्किएपछि उनको शरीरका विभिन्न भाग जलेका थिए ।
घाइते बालिकालाई जिल्लामा प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। तर उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।