पाल्पा । जंगली च्याउ खाँदा पाल्पा जिल्लामा दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी व्यक्ति विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।
मृत्यु हुनेमा रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङकी ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेका छन्।
दुवै जनाको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिएका छन्। खाम्चाको बुधबार र कामुको मंगलबार मृत्यु भएको हो।
घटनामा गम्भीर बिरामी पर्नेमा रम्भा गाउँपालिका–५ कै ५० वर्षीया यानुमाया जर्घा र तानसेन नगरपालिका–११ भालुवनका चार जनाको उपचार सोही अस्पतालमा भइरहेको छ।
यस्तै, निस्दी गाउँपालिका–४ झुल्याटुङ्गका दुई जनालाई थप उपचारका लागि चितवन पठाइएको छ र उनीहरूको भरतपुर अस्पताल मा उपचार भइरहेको छ।
त्यसैगरी, माथागढी–३ कसेनीका चार जना र तानसेन नगरपालिका–८ का दुई जनाले भने लुम्बिनी मेडिकल कलेज मा उपचारपछि स्वास्थ्य लाभ गर्दै घर फर्किएको जनाइएको छ।
जिल्लाका विभिन्न स्थानमा गरी हालसम्म दर्जनभन्दा बढी व्यक्ति जंगली च्याउ सेवनपछि बिरामी परेका छन्।