काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हालेको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार महासंघको नयाँ अध्यक्ष बनेका अञ्जन श्रेष्ठले बिहीबार पदभार ग्रहण गरेका हुन्।
महासंघमा आज आयोजित संक्षिप्त कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष श्रेष्ठसँगै निर्वाचित अन्य पदाधिकारीहरूले पनि पदभार ग्रहण गरेका छन् ।
बुधबार महासंघको ६० औं साधारणसभा र निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
पदबहालीपछि अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकतामा राखिने बताएका छन् ।
साथै उनले उद्योगी-व्यवसायीको आत्मविश्वास अभिवृद्धि गर्दै लगानी र आर्थिक गतिविधि विस्तारका लागि महासंघले सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।