काठमाडौं । जिल्ला अदालत काठमाडौंले शेखर गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न अस्वीकार गरेको छ।
मंगलबार न्यायाधीश मोना सिंहको एकल इजलासले गोल्छालाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै म्याद थप गर्न अस्वीकार गरेको हो।
आदेशमा भनिएको छ–‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन ।’
यसअघि सोमबार सर्वोच्च अदालतले उनलाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको थियो। सो आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पुनः पक्राउ गरी मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
सर्वोच्चको सोमबारको आदेशसँगै उनी पाँच लाख रुपैयाँ धरौटी रिहा भएका थिए । लगत्तै सीआईबीले बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि भन्दै उनलाई पुनः पक्राउ गरेको थियो।
आज अदालतले म्याद थप नगरेपछि गोल्छा हाजिरी जनमानीमा छुटेका छन् ।
विचौलिया भट्ट भने सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा अझै प्रहरी हिरासतमै छन् । रुपेश केसी नेतृत्वको समितिले तयार पारेको धितोपत्र सम्बन्धी जाँचबुझ प्रतिवेदन कै आधारमा भट्ट र गोल्छा शेयर बजारमा कृत्रिम चलखेल गरेको आरोपमा पक्राउ परेका हुन् ।
हाल ललितपुरस्थित प्रहरी हिरासतमा रहेका भट्टलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा म्याद थप भएर अनुसन्धान भइरहेको छ ।
भट्टले सेयर बजार प्रभावित पार्ने, मूल्यमा उतारचढाव ल्याउने र जालसाँझीपूर्ण कार्य गरेको धितोपत्र बोर्डले गरेको सुपरिवेक्षणले निष्कर्ष निकालेको थियो ।
धितोपत्र कारोबार सम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदन अनुसार भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीमार्फत रकमको वास्तविक लेनदेन नगरी भट्टले करोडौंको सेयर कारोबार गरेको खुलेको थियो ।
भट्टले पब्लिक कम्पनी हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड रुपैयाँ र हिमालयन क्यापसर्बबाट ३७ करोड रुपैयाँ निकालेर नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए । उक्त सेयर खरिदमा नै भट्टले घोटाला गरेको खुलेको छ ।