काठमाडौं । हालै जेलमुक्त भएका डन दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको खुलेको छ ।
उनको समूहका केही व्यक्तिले ठेकदारहरुलाई धम्काएर स्काभेटर लगायत सामान फिर्ता नगरेको उजुरीका आधारमा सोमबार प्रहरीले नियन्त्रणमा लिएको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई कार्यालयमै लगेर सोधपुछ गरेको हो। एक निर्माण व्यवसायीको उजुरीमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोत बताउँछ ।
मनाङेकै समूहमा आबद्ध एक व्यक्तिले निर्माण व्यवसायीको स्काभेटर लगायत सामान लगेका थिए। त्यसमा मनाङे जमानी बसेका थिए। तर, सामान फिर्ता नगरी उल्टै दीपक मनाङेको मान्छे हुँ भनेर धम्काएपछि निर्माण व्यवसायी प्रहरीमा पुगेका हुन्।
जमानी बसेका मनाङेले पनि धाकधम्कीको शैली अपनाएका थिए। जेलबाट छुटेलगत्तै फेरि गुन्डागर्दीजन्य गतिविधिमा सलग्न भएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। तर, प्रहरीले छलफलमा सहमति भएको भनेर उनलाई छाडेको थियो।
यतीबेला प्रहरीले गुन्डागर्दीविरुद्ध अभियान चलाइरहेको छ। कुनै उजुरी नहुँदा पनि साना गुन्डाहरुलाई प्रहरीले दुई सातासम्म थुनामा राखेर मुद्दा चलायो । तर, मनाङेको हकमा फरक व्यवहार भएपछि प्रहरीमाथि प्रश्न उठेको छ।
हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी सन्तोष खड्का छन्। उनले आर्थिक लेनदेनका घटनामा बढी चासो राख्ने र व्यक्तिहरु पक्राउ गर्दै छाड्ने गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा पुगेको छ।