काठमाडौं । लगातारको वर्षाका कारण बिपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । शनिबारदेखि अवरुद्ध भएको सडक आइतबार खोल्ने प्रयास भए पनि पुनः परेको वर्षाले समस्या झन् जटिल बनाएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार आइतबार बेलुकासम्म डाइभर्सन निर्माण गरी सडक खुलाउने प्रयास भइरहेकै बेला अपराह्न वर्षा भएपछि काम रोकिएको थियो । सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्थायी डाइभर्सन निर्माण स्थगित गरिएको उनले बताए ।
उनका अनुसार सोमबार बिहानदेखि पुनः काम सुरु गरिएको छ र चारसयबेसी बाहेक अधिकांश स्थानमा डाइभर्सन तयार भइसकेको छ। बिहान १० बजेसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
आइतबार आठ स्थानमा डाइभर्सन बनाएर आवागमन खुलाउने तयारी गरिएको भए पनि चारसयबेसी क्षेत्रमा वर्षा बाधक बनेपछि काम अधुरै रह्यो।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शनिबार दिउँसो ३ः३० बजेदेखि जोखिमलाई मध्यनजर गर्दै राजमार्ग बन्द गरिएको थियो। काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुन्जेदेखि रोशीको मंगलटार खण्डमा पर्ने रोशी खोलामा आएको बाढीका कारण सडकमा ठूलो क्षति पुगेको हो।