ललितपुर । वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदैछ। रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ।
हाल पुलचोकमा रथ निर्माण भइरहेको छ। रथ निर्माण अन्तिम चरणमा पुगेको रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालले जनाएको छ।
ञँवालका नाइके प्रेम महर्जनका अनुसार आजसम्म रथ निर्माण सम्पन्न गरी पात्रोअनुसार बेलुकासम्म रथारोहण गरिनेछ।
गजुर राखेपछि ललितपुरस्थित मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोकमा ल्याइनेछ।
मूर्ति ल्याउने क्रममा गजुरको पल्टनसहित रातो मच्छिन्द्रनाथको पुजाहारी जलपानेजु र खलपानेजुको सक्रिय सहभागिता रहन्छ। मन्छिन्द्रनाथको मूर्तीलाई पूजा गरी रथमा चढाइन्छ।
रथारोहन सम्पन्न भएपछि पात्रोको तिथिअनुसार वैशाख ८ गते बेलुका रथ तान्ने कार्यक्रम रहेको र सोही दिन रथलाई गाबल पुर्याइनेछ।