कास्की । फेवाताल किनारमा अवस्थित संरचना हटाउने अभियानअन्तर्गत चर्चित पर्यटन व्यवसायी कर्ण शाक्य को ‘वाटर फ्रन्ट’ होटलमा पनि डोजर चलाइएको छ ।
शनिबार बिहानै गृह मन्त्रालयको निर्देशनमा प्रहरी र स्थानीय निकायको समन्वयमा होटलको स्विमिङ पुल, गेट लगायतका संरचना भत्काइएको हो ।
प्रहरीका अनुसार ताल किनारबाट ६५ मिटरभित्र पर्ने संरचना भएकाले ती हटाइएको हो। कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले मापदण्ड उल्लंघन भएका संरचनामा कारबाही गरिएको जानकारी दिए ।
यसअघि सर्वोच्च अदालतले समेत ताल किनारका अवैध संरचना हटाउन आदेश दिएको थियो। हाल होटलका अन्य संरचना भने यथावत राखिएको छ।
डोजर अपरेसन खपौंदी, सेदीलगायत फेवाताल किनारका विभिन्न क्षेत्रमा समेत सञ्चालन गरिएको छ।
यसक्रममा केही स्थानीय तथा व्यवसायीले आफूहरूको संरचना अवैध नभएको दाबी गर्दै भत्काउन नदिन आग्रह गरेका थिए। पूर्वसूचना नदिई संरचना भत्काइएको भन्दै केही ठाउँमा विरोधसमेत भएको थियो। तर प्रहरीले अपरेसन जारी राखेको छ।
पोखरा महानगरपालिकाले भने हालसम्म ताल संरक्षणसम्बन्धी प्रगति प्रतिवेदन प्रधानमन्त्रीलाई पठाइसकेको छ।