सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
आज बिहान काठमाडौंबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविन तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै दुर्घटनामा घाइते हुने अन्य यात्रुहरुमा झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेकी ९ वर्षीया संस्कृती यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन् ।
उनीहरुको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको छ। प्रहरीले दोलखाको बैतेश्वर गाउँपालिका–६ का बस चालक सुमन सुवेदीलाई नियन्त्रण लिई दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ ।