बाजुरा । मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुँदैछ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ ।
मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना छ ।
हिमपात भएपछि बडिमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र बस्तीमा हिमपात भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए ।
उनका अनुसार हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहलगायत क्षेत्रका स्थानीय बढी प्रभावित बनेका छन् ।