एजेन्सी । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ ।
दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द गरिएका छन् ।
न्युयोर्कदेखि म्यासाचुसेट्ससम्मका क्षेत्रहरू बाक्लो हिउँले ढाकिएका छन्। राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा झण्डै ३३ इन्चसम्म हिउँ जमेको छ।
न्युयोर्कको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ । शहर प्रशासनले यात्रा गर्नै नसकिने अवस्था रहेको भन्दै सर्वसाधारणलाई घरभित्रै बस्न चेतावनी दिएको छ।
हिमपातका कारण न्यु जर्सी र म्यासाचुसेट्समा सबैभन्दा बढी प्रभाव परेको छ, जहाँ ६ लाखभन्दा बढी घर तथा व्यवसायमा विद्युत् आपूर्ति बन्द भएको छ।
यो हिमपातले ४८ वर्षअघिको ऐतिहासिक रेकर्ड समेत तोडेको छ। रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा मा सन् १९७८ को फेब्रुअरीमा कायम भएको २८.६ इन्च हिउँको रेकर्डलाई उछिन्दै यस पटक ३३ इन्च हिउँ परेको छ। मौसमविद्हरूले यसलाई अप्रत्याशित र अत्यन्त भयावह अवस्थाका रूपमा व्याख्या गरेका छन्।
हिउँको थुप्रोका कारण सयौँ सवारी साधन सडकमै फसेका छन्। उद्धार र हिउँ पन्छाउने कार्यमा अवरोध पुर्याउने ३०० भन्दा बढी गाडीहरू प्रहरीले हटाएको जनाएको छ।