काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन तत्काल कार्यान्वयनमा नल्याए युवाहरूबाट फेरि आन्दोलन उठ्न सक्ने चेतावनी दिएका छन् ।
उनले प्रतिवेदन बुझाउने क्रममा सार्वजनिक नगरिए र कार्यान्वयनमा नलगिए जेनजीका युवाहरू पुनः आन्दोलनमा उत्रिन सक्ने सम्भावना रहेको भन्दै सरकारलाई सचेत गराएका हुन् ।
'प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुनसक्छ भनेको छु,' उनले भने।
प्रदर्शनका क्रममा २३ र २४ गते भएका घटनाको आयोगले सूक्ष्म अध्ययन तथा तथ्य अन्वेषण गरेको जनाएको छ । २३ गते भएको घटनामा किशोरहरूको ज्यान जाने अवस्थासम्म पुगेको भन्दै त्यसमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको कार्कीले जानकारी दिए । दोषीहरूको नाम भने प्रतिवेदन सार्वजनिक भएपछि मात्र खुल्ने उनले बताए ।
उनले भने- 'गोली हान्ने, हान्न लगाउने र नरोक्ने सबै कारबाहीको सिफारिसमा परेका छन् । किशोरहरूलाई शहीद बनाउनेहरूलाई कारबाही गर भनेका छौँ।'
आयोगले गोली हान्ने, हान्न लगाउने तथा गोली रोक्न नसक्ने सबै जिम्मेवार व्यक्तिहरूलाई कारबाहीको सिफारिस गरेको कार्कीको भनाइ छ ।