'विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुँदै आएको होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा '
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएका छन्।
शनिबार बिहान सुरु भएको अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट आफ्ना सर्वोच्च नेता आयातोल्ला अली खामेनी मारिएपछि इरानका सभामुख मोहम्मद बकिर कालिबाफले आफूहरुमाथि गरिएको आक्रमणको चर्को मूल्य चुनाउनुपर्ने बताएका थिए।
सभामुख बालिबाफले आफूहरु पनि चुप लागेर नबस्ने बताएपछि राष्ट्रपति ट्रम्पले समाजिक सञ्जाल ट्रुथबाट धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन्।
इरानले भर्खरै भनेको छ कि उनीहरूले आज धेरै कडा प्रहार गर्नेछन्। पहिले कहिल्यै प्रहार नगरेको भन्दा कडा यद्यपि, उनीहरूले त्यसो नगरेकै राम्रो, किनकि यदि उनीहरूले त्यसो गरे भने, हामी उनीहरूलाई पहिले कहिल्यै नदेखेको बलले प्रहार गर्नेछौँ। उनले लेखेका छन् ।
यसअघि ट्रम्पले खामेनीलाई ‘इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ भन्दै मृत्यु भएको घोषणा गरेका थिए ।
इरानी सञ्चारमाध्यमले खामेनीकी छोरी, ज्वाइँ र नातिनीको पनि मृत्यु भएको जनाएका छन् । देशको न्यायपालिकाले रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपुर र शीर्ष सुरक्षा सल्लाहकार अली शामखानी आक्रमणमा ‘शहीद’ भएको पुष्टि गरेको छ । साथै इरानको न्यायपालिका मिनाबस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा १०८ जनाको मृत्यु भएको जनाइएको छ ।
खामेनीको निधनमा इरानमा ४० दिनको राष्ट्रिय शोक र सात सार्वजनिक बिदा घोषणा गरिएको छ । खामेनीको निधनपछि राष्ट्रपति मसुद पेजेस्कियनसहित दुई वरिष्ठ अधिकारीहरूले अस्थायी रूपमा नेतृत्व सम्हाल्ने सरकारी टेलिभिजनले जनाएको छ ।
खामेनीको मृत्युपछि इरानको रिभोलुसनरी गाड्र्सले ‘इतिहासकै सबैभन्दा हिंसक’ अपरेसन सुरु गर्ने चेतावनी दिएको छ ।
जसका लागि अमेरिका र इजरायलको कारबाहीको प्रतिउत्तरमा गाड्र्सले इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमणको पहिलो लहर सुरु गरेको छ । शनिबार बहराइनस्थित अमेरिकी पाँचौँ फ्लीट र खाडी क्षेत्रका अन्य अमेरिकी अड्डाहरूलाई पनि लक्षित गरिएको दाबी गरिएको छ । इजरायलको म्यागेन डेभिड एडोम आपतकालीन सेवाका अनुसार तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको र कम्तीमा २१ जना घाइते भएका छन् ।
संयुक्त अरब इमिरेट्सले अबुधाबीमा एक पाकिस्तानी नागरिकसहित दुई जनाको मृत्यु भएको जनाएको छ भने आफ्नो भूभागमा १ सय ३७ मिसाइल र २ सय९ ड्रोन प्रहार गरिएको दाबी गरेको छ । दुबईमा विस्फोटको आवाज र ‘द पाम’ क्षेत्रमा धुवाँ देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । रियाद, मनामा र दोहामा पनि ठूलो विस्फोटको आवाज सुनिएको एएफपीका संवाददाताहरूले जनाएका छन् ।
इरानले रणनीतिक होर्मुज जलडमरूमध्य बन्द गर्न कदम चालेको घोषणा गरेको छ, जसबाट विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुँदै आएको छ । विकासक्रमले अन्तर्राष्ट्रिय समुदायलाई पनि गम्भीर चिन्तामा पारेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सैन्य कारबाहीले नियन्त्रणबाहिर जाने घटनाक्रम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । यसबीच इरान, इराक, कुवेत, सिरिया, संयुक्त अरब इमिरेट्स र इजरायलले नागरिक उडानका लागि आकाश आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् ।