काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवन निर्माणको गति बढाउन कडा निर्देशन दिएका छन् ।
फागुन २१ को निर्वाचनपछि नयाँ संसद् भवन सिंहदरवारबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक शुरु गर्ने संसद सचिवालयको तयारी छ ।
सोहीअनुसार प्रतिनिधि सभाको बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निर्माणमा बढी जोड दिएर अघि बढनेगरी काम गर्न अध्यक्ष दाहालले निर्माण कार्यमा संलग्न पक्षहरुलाई सचेत गराएका हुन् ।
उनले भने- 'अब करिब सदन चल्ने कुरा निधो भइसकेको छ । त्यसअनुसार भवन निर्माणको गति अझै अपेक्षाअनुसार आएको छैन । हामीले पहिले नै धेरै पटक निर्देशन दिइसकेका छौँ, अहिले पनि अन्तिम निर्देशन दिइएको छ । कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्छ ।'
अध्यक्ष दाहालले निर्माणमा केही प्रगति भएको भए पनि फिनिसिङ र अन्य प्राविधिक पक्षमा ध्यान दिन आग्रह गरे ।
दाहालले यसअघि पनि शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर उनले सो निर्देशन दिएका थिए ।
त्यसक्रममा सचिव सिग्देलले अध्यक्ष दाहाललाई संसद भवनको निर्माण कार्य करिव ९२ प्रतिशत सकिएको र बाँकि काम पूरा गरी चैत्रको पहिलो हप्ता निर्माण कार्य सम्पन्न गर्न सकिने ब्रिफिङ गरेका थिए ।