अछाम । पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता शेरबहादुर कुँवरले मुंग्राबाट चौरपाटीमा खानेपानी ल्याउन २३ करोड ८९ लाख बजेट छुट्याएको दाबी गरेपछि विवाद उत्पन्न भएको छ ।
बुधबार अछामको गैरिलेकमा आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै नेता कुँवरले पातल र दुनीको बीचमा रहेको मुंग्राबाट खानेपानी चौरपाटी ल्याउने योजनाका लागि बजेट विनियोजन गरिएको बताएका थिए । उनले उक्त योजना सिउँडीका नागरिकलाई प्राथमिकतामा राखेर अघि बढाइएको दाबी गरे।
कुँवरका अनुसार सो योजनामा ३–४ करोड रुपैयाँ खर्च भइसकेको छ । तर अहिले उक्त खानेपानी योजना अलपत्र अवस्थामा रहेको स्थानीय बताउँछन्।
खानेपानी चौरपाटी ल्याउने उद्देश्यले यसअघि राम आउजीको नेतृत्वमा समिति समेत गठन गरिएको थियो। तर काम अगाडि नबढ्दा योजनाप्रति स्थानीय स्तरमा असन्तोष बढ्दै गएको छ।
पूर्वमन्त्री कुँवरले चुनावी कार्यक्रममा खानेपानी तथा सडक विकासका विषयमा भाषण गरेपछि चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन् ।
अध्यक्ष साउँदले कमेन्ट गर्दै 'मुंग्रा खानेपानीको २३ करोड रुपैयाँ कता गयो ?' भन्दै प्रत्यक्ष प्रश्न उठाएका छन् । साथै उनले नेता कुँवरलाई 'सिउँडीका दाजुभाइलाई भ्रमित नबनाउन' अनुरोध गरेका छन् ।
अध्यक्ष साउँदले खानेपानीसँगै चौरपाटी–चौउखुट्टे सडक र दुनी–पातल सडक सम्बन्धी विषयमा समेत भ्रम फैलाइएको आरोप लगाउँदै अब सिउँडी–सोकटका जनताले सबै कुरा बुझिसकेको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमै लेखेका छन्, 'मन्त्रीज्यू, यति सम्म सिउँडीका दाजुभाइहरूलाई भ्रमित नबनाउँदा हुन्छ। मुंग्रा खानेपानीको २३ करोड रुपैयाँ कता गयो ? चौरपाटी–चौउखुट्टे सडकको विषयमा पनि भ्रम नफैलाउनुहोस्। दुनी–पातल सडकको बजेटको त बुढाकोटबाट ठेक्का खोल्न लगाउनुभयो । यस्तो उदारा फस्का नहान, बरु आफ्नो पार्टीलाई भोट माग ।'
सबैभन्दा बढी सिउँडीका जनता खानीपानीको समस्या भोग्दै आएका छन् । चुनावका बेला नेताहरु घरघरमा खानीपानी पर्याइदिने भन्दै आश्वासन दिने गरेका छन् । तर यहाँका नागरिकका समस्या उस्तै छन् ।