काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ को घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेन शाहको डेरा कोठामा चोरी गरेका थिए ।
राजवाहकलाई प्रहरीले २३ माघमा बाँसबारीबाट पक्राउ गरेको हो । उनीविरुद्ध यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
उनी चोरी गर्नेमध्येका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । साधारण लेखपढ गर्न जान्ने उनले बालेनको डेरामा चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
पेन्टरको काम गर्ने उनी चोरीको कसुरमा ३ वर्ष ६ महिना कैद भुक्तान गरिरहेका थिए । सोही क्रममा उनी २४ भदौमा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेसँगै फरार भएका राजवाहक रास्वपाकै वरिष्ठ नेता बालेनको घर चोरी प्रकरणमा पक्राउ परेका हुन् । यद्यपी लामिछाने भने पछि आफै नख्खु फर्किएका थिए ।
नख्खु कारागारबाट भागेपछि उनी पाँच वटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीले बताएको छ । उनी निर्माणाधीन घरबाट धारा, टुटी तथा अन्य घरहरूमा चाँदीका गिलास, कचौरा, दियो र चाँदीका प्लेटहरू चोरी गरेको प्रहरीले बताएको छ ।
काठमाडौं महानरपालिका–२६ मा रहेको क्लासिक एण्ड लज इन गेष्ट हाउसको कोठा नम्बर ४०२ मा बस्दै आएका उनको कोठाबाट प्रहरीले वर्ल्ड लिंक लेखिएको राउटर र सीसीक्यामेरा २ थान बरामद गरेको छ ।
त्यस्तै उनको साथबाट प्रहरीले एक्रोन गोल्ड लेखिएको निलो बिँड भएको पिलास १ थान, सलाई रेन्ची, रेती, स्क्रु र कालो रंगको ज्याकेट बराबद भएको छ ।
त्यसैगरी प्रहरीले खिमबहादुरलाई भने २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो । उनी बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति रहेको पाइएको छ । ११ मंसिर २०७९ मा उनीविरुद्ध प्रहरी वृत्त बौद्धबाट मुद्दा चलेको थियो ।
उनी बालुवा डिपो सञ्चालन गर्दै आएका थिए । मनिष राजवाहकले दिएको चोरीका सामानहरू उनले बेच्ने गरेको प्रहरीले बताएको छ ।
राजवाहक र खड्कबीच घरको काम गर्ने क्रममा करिब ८ वर्षदेखि चिनजान रहेको पाइएको छ । राजबाहक समेत खड्काको डिपोमा काम गर्थे ।
खड्काको भक्तपुर ठिमी नगरपालिका दुवाकोटस्थित घरबाट प्रहरीले चाँदीका थाली, कचौरा, रिङ, नटबोल्ट, सुनजस्तो देखिने लक्ष्मीको मूर्ति भएको झुम्का, चन्द्रमा, सिक्री बालाजस्ता सामानहरू बरामद भएका छन् ।
श्रेष्ठलाई भने प्रहरीले २४ माघमै बालाजुबाट पक्राउ गरेको हो । उनीविरुद्ध २९ कात्तिक २०६४ प्रहरी वृत्त बौद्धबाट जबरजस्ती करणीको कसुरमा मुद्दा चलेको देखिएको छ ।
श्रेष्ठ भने खेती किसानी गर्ने व्यक्ति हुन् । रामेछाप कारागारमा रहँदा उनी र राजबाहकबीच भेटघाट र चिनजान भएको देखिएको प्रहरीले बताएको छ । उनले २ ल्यापपटप डिकमा राखी राजबाहकलाई ८ हजार दिएको पाइएको छ ।
धादिङ धुनीबेशी नगरपालिका–७ लप्सेस्थित उनको कोठाबाट प्रहरीले झोला, डेलको ल्यापटप, म्याकबुक प्रो, चार्जर, डीभीआर लगायतका सामान बरामद गरेको छ ।

