काठमाडौं । चर्चित गायिका ज्योति मगरले देशको राजनीति, विदेशी प्रभाव र ‘नयाँ–पुरानो’को बहसलाई लिएर कडा टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एमसिसी, अमेरिकी यूथ काउन्सिल, ‘रअ’, ‘सीआईए’, धर्मनिरपेक्षता र हिन्दु राज्यजस्ता एजेन्डाको नाममा नेपाललाई प्रयोगशाला बनाइँदै आएको आरोप लगाएकी छन् ।
मगरले ‘नयाँ’ भन्ने नाममा देश बेच्ने खेल भइरहेको कटाक्ष गर्दै लेखेकी छन्, 'अचेल सबैको मुखमा झुन्डिएको एउटै साझा शब्द—पुरानालाई हेरिसकियो, एक चोटी नयाँलाई दिई हेरौँ न देश । अनि मलाई पनि भन्न मन लाग्छ नयाँ मात्र किन, सिधै विदेशीको हातमा दिई हेरौँ न ! बेकारमा कहिले एमसिसि, कहिले बार्बरा, कहिले अमेरिकन युथ काउन्सिल, कहिले धर्म निरपेक्षता, कहिले हिन्दु राज्य, कहिले ‘रअ’, कहिले ‘सिआइए’—किन घुमिफुरी लामो बाटो गरेर देश बेच्नुरु एकैचोटि दिए हाइसुक्क न रहेगा बास, न बजेगा बासुरी'
नेपाल गरिब भए पनि कहिल्यै कसैको गुलाम नभएको इतिहास बोकेको स्वतन्त्र राष्ट्र भएको स्मरण गराउँदै उनले अविवेकी उत्तेजना र भ्रम फैलाएर देश जलाउने काम नगर्न चेतावनी दिएकी छन्।
उनले लेखेकी छन्, 'यो देश भलै गरिब होला तर कहिल्यै कसैको गुलाम नभएको इतिहास बोकेको एक स्वाधीन र स्वतन्त्र राष्ट्र हो। खबर्दार—कुनै भिजन नभएका अविवेकी झ्याक्नेहरू गालीगलौच, उत्तेजना र भ्रम छर्दै देश जलाउने, देश सकाउने र देश झुकाउने काम नगर्लास्। यो देश कहिले नयाँ, कहिले पुराना, कहिले इन्डिया, कहिले अमेरिका, कहिले ‘रअ’, कहिले ‘सिआइए’, कहिले ‘फ्री तिब्बत’हरूले प्रयोग गरी हेर्ने प्रयोगशाला होइन।'
आगामी चुनावका सन्दर्भमा पनि उनले स्पष्ट धारणा राख्दै ‘नयाँ–पुरानो’ भन्दा पनि राष्ट्रवादी शक्तिले जित्नुपर्ने बताएकी छन्।
'यो चुनाव नयाँ–पुराना, हलाना–फलाना होइन, राष्ट्रवादीले जित्नुपर्छ, राष्ट्रले जित्नुपर्छ,' उनले लेखेकी छन्।