Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरु

खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरु

बिहिवार , पौष २४, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरू विरोधमा उत्रिएका छन् ।

गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

सरकारले २०६५ सालमा बागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर, नक्खुमा १२ मिटर तथा अन्य खोलामा ४–१० मिटरसम्म मापदण्ड तोकेको थियो ।

त्यसैअनुसार धेरैले जग्गा छोडेर घर निर्माण गरेका थिए । तर सर्वोच्च अदालतले २०८० पुस ३ गते थप २० मिटर (कुल ४० मिटरसम्म) क्षेत्रमा संरचना बनाउन निषेध गर्ने फैसला गरेको थियो । यसले उपत्यकाका १९ वटा खोलामा ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान छ ।

पीडितहरूले यो फैसलालाई गैरन्यायिक भन्दै जग्गाको मूल्य शून्य हुने र हजारौँ परिवार विस्थापित हुने त्रास व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकालगायत स्थानीय तहले पनि फैसला कार्यान्वयनमा कडाइ गरेपछि विरोध चर्किएको छ ।

प्रदर्शनकारीहरूले जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर्, भूमि हाम्रो प्राण हो, फैसला होइन न्याय दे, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

यस्तै सर्वोच्चको विगतको फैसला कार्यान्वयन भएमा परापूर्वकालदेखि बसोबास गर्दै आएका नागरिकको जीवनमा गम्भीर प्रभाव पार्नुका साथै निजी आवास, सम्पत्ति र भविष्य असुरक्षित हुने भन्दै सरकार पुनरावलोकनमा गएको थियो । पुनरावलोकन निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077