धनगढी । गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हिमशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा पुनः आह्वान गरिएको छ ।
यसअघि पुस १३ गतेका लागि तय गरिएको साधारण सभा आवश्यक गणपूरक नपुगेपछि स्थगित गरिएको थियो । सहकारीको सोही दिन साँझ बसेको सञ्चालक समितिको बैठकले अब साधारण सभा पुस १९ गते शनिबार आयोजना गर्ने निर्णय गरेको हो ।
सभा धनगढी–५, तारानगरस्थित हिमशिखर भवनको प्राङ्गणमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कार्यक्रमअनुसार बिहान ९ बजेदेखि सदस्य नाम दर्ता, ११ बजेदेखि १ बजेसम्म उद्घाटन समारोह, १ः३० बजेदेखि बन्द सत्र (साधारण सभा) र ४ बजेदेखि ४ः३० बजेसम्म समापन कार्यक्रम रहनेछ ।
साधारण सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को कार्ययोजना तथा अनुमानित आय–व्यय बजेट, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, तथा चार्टर्ड एकाउन्टेन्ट उमेश घिमिरेद्वारा तयार गरिएको आ.व. २०६८/०६९ देखि २०८१/०८२ सम्मको लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।
यसैगरी संचालक समितिका विगतका निर्णय अनुमोदन, शेयर लाभांश, संरक्षित पूँजी फिर्ता र कर्मचारी बोनस स्वीकृति, नयाँ लेखा परीक्षक नियुक्ति, निर्णय पुस्तिकामा हस्ताक्षरका लागि १० जना शेयर सदस्य प्रतिनिधि छनोट, तथा निर्वाचन कार्यक्रमसम्बन्धी विषय पनि एजेन्डामा समेटिएका छन् ।
सहकारीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले पत्राचार प्राप्त गर्न नसकेका शेयर सदस्यहरूका लागि यसै सूचनालाई आधार मानी गरिमामय र अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेका छन्।