काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्कनुभएको सम्झनामा मेलमिलाप दिवस मनाउने गरिन्छ ।
२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई झन्डै आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरका बीपी कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीतिमा जोड दिएका थिए ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई झन्डै तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।
मेलमिलाप दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा बीपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्दैछ ।