मोरङ । नेपाल–भारत सीमा क्षेत्र नजिक मोरङको जहदा गाउँपालिकामा प्रहरीले हवाई फायर गरी लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
शनिबार राति करिब साढे १० बजे जहदा गाउँपालिका–२ तारिगामा भारततर्फ गाँजा लैजाँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुँडालका अनुसार, नेपालबाट भारततर्फ ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोली घटनास्थल पुग्दा टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ लैजाने तयारी भइरहेको देखिएको थियो।
प्रहरी देख्नासाथ संलग्न व्यक्तिहरू गाँजाका बोरा फालेर फरार हुन खोजेपछि नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गर्नुपरेको डिएसपी चुँडालले जानकारी दिइन्।
हवाई फायरपछि भारतको अररिया जिल्लाको चन्दामोहन–५ घर भएका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट करिब ३ सय ३० केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ।