काठमाडौं । जेनजी आन्दोलनको क्षतीको सम्बन्धमा छानबिन गर्न गठन भएको जाँचबुझ आयोगप्रति सबै पक्ष असन्तुष्ट बनेका छन्। जेनजी अगुवा, सुरक्षा निकाय तथा राजनीतिक दल समेत आयोगको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। जसकारण आयोगको प्रतिवेदनले बैधता पाउनेमा शंका व्यक्त गर्न थालिएको छ ।
सुरुमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठेपछि आयोग विवादमा परेको थियो। कार्कीले जेनजी आन्दोलनभन्दा पहिलेदेखि नै सामाजिक सञ्जालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आएका थिए । त्यस्तो व्यक्तिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै आलोचना भएको थियो।
पछिल्लो समय आयोगका सदस्य बिज्ञानराज शर्माका कारण विवाद बढेको छ। शर्माले छानबिनलाई भन्दा मिडियाबाजीमा ध्यान दिएको आरोप लाग्न थालेको छ । पत्राचार तथा सामान्य सोधपुछका विषयमा उनले प्रचारबाजी गर्दै आएका छन् ।
त्यसो त शर्मा आफैंको पृष्ठभुमी पनि विवादास्पद छ । उनी प्रहरीका पूर्वएआइजी हुन। प्रहरी सेवामा रहँदा उनी विवादमा परिरहने अधिकृत हुन्।
खेलकुद पृष्ठभूमिबाट प्रहरीमा आएका शर्मा अच्यूतकृष्ण खरेल दोस्रो पटक आइजीपी हुँदा दीपक मल्होत्राहरुले सुन तस्करी गर्न छुट पाएको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डीएसपीका रुपमा सेट भएका थिए।
त्यसबेला विमानस्थल प्रहरी प्रमुख कुवेर राना थिए, तर एयरपोर्टको सबै सेटिङ शर्माले गर्ने गरेको चर्चा त्यसबखत ब्यापक थियो । त्यतिबेला नै शर्माले आफ्ना भाइ दया शर्मालाई मल्होत्राको ब्यापारिक पार्टनर बनाएका थिए । जो अहिलेपनि उनका पाटर्नर छन् ।
कपिलवस्तुका एक मुसलमान समुदायका ब्यक्ति मार्फत् उनले जग्गामा करोडौं करोड लगानीगरेको उनका समकक्षी पूर्वप्रहरी अधिकृतहरु नै चर्चा गर्दछन् ।
एसएसपी हुँदा फरार अभियुक्त राजु गोर्खालीलाई आफ्नै गाडीमा चढाएर लाने क्रममा उनको गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो । र, उनको गाडीबाट गोर्खालीलाई पक्राउ गरिएको थियो ।
शर्मा भने एसएसपीको परिचयपत्र देखाएर जोगिएका थिए । गोर्खालीसँग शर्माको ब्यापारिक साझेदारी नै रहेको चर्चा प्रहरीमा हुने गरेको छ । अहिले आयोगमार्फत पनि उनले अनेक चलखेल गरिरहेको चर्चा चल्न थालेको छ ।
जसकारण आयोगको प्रतिवेदनले बैधता पाउने र कार्यान्वायनमा हुनेमा अहिलेदेखि नै प्रश्न उठ्न थालेको छ। त्यतीबेला फिल्डमा खटिएका कतिपय अधिकृतलाई समेत हतोत्साहित हुने गरी उनले सामान्य सोधपुछका विषय समेत बाहिर लैजाने गरेपछि प्रहरी संगठनका धेरै अधिकारी पनि आयोगप्रति असन्तुष्ट बनेका छन्।
तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीलाई छानबिनको दायरामा अझै ल्याउन नसकेकोमा जेनजी अगुवा पनि आयोगको कामसँग खुशी छैनन्। सबै पक्ष असन्तुष्ट बनेपछि आयोगको बैधानिकता धरापमा पर्दै गएको छ।