काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीमाथि पनि छानबिन गरिरहेको खुलेको छ। भिजिट भिसाको सेटिङ गिरोहमा उनको समेत संलग्नताको आशंका गरिएको छ ।
आयोगले बिहीबार तत्कालिन अध्यागमन प्रमुख तिर्थराज भट्टराईसहित सात जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । यसमा थप व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको आयोगले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
जसमा तत्कालिन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी तथा लेखकका स्वकिय सचिव बद्री तिवारी, निजी सचिव जनक भट्ट समेत छन्।
लेखकको निजी सचिवालयमा बसेका विमल पौडेलले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको खुलेको छ । पौडेल लामो समय अध्यागमन विभागअन्तर्गत नै बस्दै आएका कर्मचारी हुन् ।
शाखा अधिकृत पौडेल र गणेशदत्त ओझाले लेखकको निजी सचिवालयमा बसेर प्रहरी सरुवा तथा बढुवाका साथै मन्त्रालयमा कार्यरत सहसचिवदेखि खरिदारसम्मको सरुवा तथा बढुवामा सेटिङ मिलाउने गरेका थिए।
आयोगले गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका तत्कालिन प्रमुख तथा अध्यागमन हेर्ने प्रशासन महाशाखाका प्रमुखमाथि पनि छानबिन भइरहेको उल्लेख गरेको छ ।
त्यतीबेला शान्ति सुरक्षा महाशाखामा रामचन्द्र तिवारी प्रमुख थिए । उनी हाल अध्यागमन विभागको महानिर्देशक छन्। अध्यागमनमा सुधार गरेको भनेर हाल प्रचार गरिरहेका उनै तिवारी समेत अध्यागमनको छानबिनमा रहेको खुलेको छ ।
त्यस्तै, त्यतीबेला प्रशासन महाशाखाका प्रमुख रहेका छवि रिजाल तथा अध्यागमन विभागका महानिर्देशक रहेका गोविन्द रिजाल पनि छानबिनमा छन्।