काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् ।
शाक्यले बुधबार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री घिसिङसँग भेट गरेका हुन् ।
भेटका क्रममा मन्त्री घिसिङले प्राधिकरणका आगामी काममा कुनै सम्झौता नगरी पूर्ण क्षमताका साथ अघि बढ्न सुझाव दिएका छन् ।
मन्त्री घिसिङ भेट्न सिंहदरबारस्थित मन्त्रालय पुगेका कार्यकारी निर्देशक शाक्यले आफूले विगतमा पनि घिसिङसँग मिलेरै काम गरेको स्मरण गर्दै यस पटक पनि त्यसमा समस्या नहुने बताएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को असोज ५ गते बसेको निर्णयले शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको थियो ।
त्यसपछि ऊर्जामन्त्री घिसिङले पूर्वाग्रही प्रतिशोधपूर्ण ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको भन्दै शाक्य सर्वोच्च गएका थिए ।
सर्वोच्चले सोमबार उक्त निर्णय कानुन विपरीत भन्दै खारेज गरिदिएको थियो । सोही परमादेश सम्बन्धी निर्णय मंगलबार प्राधिकरण पुगेपछि शाक्य बुधबार हाजिर भएका थिए ।