काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ।
उनीहरुबीच सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भेटवार्ता भएको हो ।
भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीहरूको लगानीमा निर्माणाधीन आयोजनाको प्रगति लगायत विषयमा छलफल भएको बताइएको छ ।
ऊर्जा तथा जलस्रोत क्षेत्रका दुई पक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण) को नहरबाट सुख्खा याममा नेपालतर्फ पानी पठाउने, भारतीय सरकारी कम्पनीबाट निर्माणाधीन ९०० मेगावाटको अरूण तेस्रो तथा ६६९ मेगावाटको तल्लो अरूण जलविद्युत आयोजनाको वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या, नेपालबाट भारततर्फ थप विद्युत निर्यातको स्वीकृति, हिउँद यामका महिनामा विद्युत आयात लगायत विषयमा भेटमा छलफल भएको थियो।
मन्त्री घिसिङले हिउँद यामका केही महिनामा आवश्यक पर्ने निश्चित परिमाणको विद्युत आयात गर्न पुस दोस्रो हप्तासम्मका लागि मात्र स्वीकृति पाएकाले त्यसपछि केही महिनामा पनि २४ सै घण्टा आयात गर्न पाउने व्यवस्था गरिदिन आग्रह गरे।
भारतको प्रतिस्पर्धी डे अहेड र वास्तविक समय (रियल टाइम) मार्केटमा विद्युत निर्यात गर्दा हरेक वर्ष स्वीकृति लिनुपर्ने प्रक्रियालाई एक पटक स्वीकृति लिएपछि पुनः लिनु नपर्ने व्यवस्था गरिदिन पनि उनले आग्रह गरे।
त्यस्तै भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ थप २० मेगावाट विद्युत पठाउन सकिने देखिएकाले त्यसका लागि आवश्यक सहमति उपलब्ध गराइदिन घिसिङले आग्रह गरे।