काठमाडौं । बहुविवाह मुद्दामा पक्राउ परेका एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा कैद बापतको रकम बुझाएर छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार कैदबराबरको रकम बुझाउन मिल्ने गरी आदेश दिएपछि उनी रकम बुझाएर छुटेका हुन् ।
गम्भीर प्रकृतिको बाहेक एक वर्षमुनिको कैद सजायबराबर रकम बुझाएर छुट्न मिल्ने व्यवस्था छ । शेर्पाले त्यही व्यवस्थाअनुसार कैदबाट छुट पाऊँ भनेर निवेदन दिएका थिए । उक्त निवेदन अनुसार एक लाख ९ हजार ५ सय रुपैयाँ बुझाएर छुटेका हुन् ।
मिक्वाखोला–५, ताप्लेजुङ घर भएका शोर्पालाई कात्तिक १८ गते जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बहुविवाह मुद्दामा धुम्बाराहीबाट पक्राउ गरेको थियो । उनीविरुद्ध बहुविवाह कसुरमा एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
काठमाडौं जिल्ला अदालतले तोकेको उक्त कसुर उच्च अदालत पाटनले सदर गरेको थियो । पक्राउ परेको भोलिपल्ट उनलाई अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएको थियो ।
शेर्पाको मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए । यद्यपि अध्यक्ष केपी शर्मा ओलीले आरोप लाग्दैमा कोही दोषी ठहर नहुने भन्दै दिवंगत नेता सुवासचन्द्र नेम्वाङलगायतको नाम लिएका थिए । ओलीले शेर्पालाई कारबाही नगर्ने बताएपछि बैठकमा सहभागी अन्य पदाधिकारीले समेत ओलीको विरोध गरेका थिए ।
शेर्पा अशोक राईसँग छुटेर पछि डा. बाबुराम भट्टराईको पार्टीमा लागेका थिए । पछि माओवादी केन्द्र हुँदै एमालेमै लागेका थिए ।
उनी एमाले केन्द्रीय कमिटी सदस्य तथा आदिवासी जनजाती महासंघका पूर्व अध्यक्षसमेत हुन् ।