मनाङ । मनाङमा कात्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय पर्यटक मृत फेला परेका छन् । मृतकहरूमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन्।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा गएको उद्धार टोलीले आइतबार मिलेरपा गुम्बाभन्दा करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको हो ।
मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गरेका उनीहरू कात्तिक ३ गते सोही गाउँपालिका–५ को मिलेरपा गुम्बा घुम्न गएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
उनीहरू बेपत्ता भएपछि होटल व्यवस्थापनले सशस्त्र प्रहरी बल र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो। त्यसपछि खोजी टोली परिचालन गरिएको थियो।
उद्धार गरिएको शव अहिले प्रदेश अस्पताल मनाङ ल्याइँदै छ र सोमबार बिहान त्रिवि शिक्षण अस्पताल, काठमाडौं पठाइने तयारी गरिएको मनाङ प्रहरीले जनाएको छ ।