काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।
रास्वपाले गरेको ‘वृहत् राजनीतिक संवाद’ मा भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमजोरी हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
उनले भने–‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ । यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ ।’
भट्टराईले कांग्रेस र कम्युनिस्टहरूलाई आगामी चुनावमा हटाउन नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने पनि बताए । जेनजी आन्दोलनले कांग्रेस र कम्युनिस्टहरूलाई धक्का दिएको भए पनि जरा नउखेलिएको बताए ।
उनले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय भयो भन्ने लागेर आफूले पनि हस्ताक्षर गरेको उनले बताए ।
उनले भने–‘उहाँ अहिले भित्र हुनुहुन्छ, उहाँमाथि भेदभावपूर्ण व्यवहार भयो कि भनेर मैले पनि हस्ताक्षर गरेको हुँ । त्यसको अर्थ मैले क्लीन चिट दिने कुरा होइन, अदालतले दिने हो । सफाइ दिनको लागि बाहिर आएर खेप्दा न्यायपूर्ण हुन्थ्यो । उहाँलाई कुनै ढंगले बाहिर नै रहेर मुद्दा फेस गर्ने वातावरण बनाउन सके राम्रो हुन्थ्यो । उहाँको नेतृत्वको हामीलाई आवश्यकता छ ।’