काठमाडौं । महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पराजित गरेको छ।
सोमबार भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २–१ गोलको जित निकालेको हो।
नेपालको जितमा दुवै गोल सावित्रा भण्डारी साम्बाले गरिन्। उनले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्।
साम्बाले ६३ मिनेटमा अग्रता दोब्बर पारेकी थिइन्। उनले डिबक्स बाहिरबाट हानेको फ्रिकिकले सिधै गोलपोस्टको दिशा लिएको थियो।
भारतले ८१ मिनेटमा गोल फर्कायो। उसका लागि करिश्मा सिर्भोइकरले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।
फिफा विन्डोमा भएको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ।
खेलका लागि नेपाली टोलीमा तीन परिवर्तन गरिएको थियो। अघिल्लो खेल खेलका गोलकिपर अन्जिला तुम्बापो सुब्बा, डिफेन्डर हिराकुमार भुजेल र निशा थोकर आजको खेलको पहिलो रोजाइमा थिएनन्। आज अन्जना रानामगर, मनमाया दमाई र दीपा शाही पहिलो रोजाइमा परेका थिए।
यसअघि पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहोरेको थियो। भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले पराजित भएको थियो।
नेपाल र भारतको महिला फुटबल टोलीबीच एक वर्षपछि प्रतिस्पर्धा गरेको हो।
एक वर्षअघि काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए।
सो खेलको निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिदा पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले विजयी भएको थियो। सो खेलमा पनि सावित्राले नै नेपालका लागि बराबरी गरेकी थिइन्।
नेपाल र भारतको महिला फुटबल टोलीबीच अहिलेसम्म १९ खेल भएका छन्। जसमा नेपाल ३ खेलमा मात्र विजयी भएको छ भने भारतले ११ खेल जितेको छ। ५ खेल बराबरीमा सकिएका छन्।