काठमाडौं । राजधानीको प्रतिष्ठित पाँचतारे होटल ह्यात रेजेन्सी अस्थायी रूपमा बन्द गरिएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण होटलको संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएपछि सञ्चालन असम्भव बनेको हो ।
होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य तत्काल प्रारम्भ गर्नु अपरिहार्य भएकाले होटल अस्थायी रूपमा बन्द गरिएको छ।'
विज्ञप्तिमा थप उल्लेख छ कि मर्मत कार्यको अवधिमा सुरक्षा जोखिम र संवेदनशीलतालाई ध्यानमा राख्दै होटलबाट प्रवाह भइरहेका सम्पूर्ण व्यवसायिक सेवा पूर्ण रूपमा रोकिएका छन्।
ह्यात रेजेन्सीले आफ्नो श्रमिक युनियनसँग सहमतिमा निर्णय लिएको बताउँदै सम्पूर्ण कर्मचारीलाई अर्को सूचना नआएसम्म बिदामा बस्न अनुरोध गरेको छ।
गत भदौको अन्त्यतिर भएको प्रदर्शनका क्रममा होटल परिसरभित्र तोडफोड र आगजनी हुँदा होटलका कक्ष, लबी र सेवा क्षेत्रका केही भागमा ठूलो क्षति पुगेको जनाइएको छ।
होटल प्रशासनका अनुसार, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको छ। काम पूरा भएपछि मात्र होटल पुनः सञ्चालनमा आउनेछ।