काठमाडौं। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ ।
नेता गुरुराज घिमिरेको नेतृत्वमा भएको हस्ताक्षर सङ्कलन बुधबार अपराह्न ३ बजे कार्यवाहक सभापति खड्कालाई बुझाइएको हो ।
हस्ताक्षरको फाइल बुझेपछि खड्काले कुनै प्रतिक्रिया दिएनन् । नेपाली कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएमा बुझाएको तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । तर, कसरी गर्ने र कुन–कुन पदका लागि गर्ने भन्ने केही खुलाइएको छैन ।
फाइलमा २४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको हस्ताक्षर अभियानको नेतृत्व गरेका नेता घिमिरेले बताए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाउँदै नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताए ।
तर, हिजो मात्रै सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने बताएका थिए । मंसिरमै महाधिवेशन हुने तय भएको अवस्थामा विशेष महाधिवेशनको खाँचो नपर्ने कांग्रेसकै नेताहरु बताउँछन् । महाममन्त्री थापाले पनि हिजो मंसिरभित्रै महाधिवेशन भएको खण्डमा विशेष महाधिवेशन बोलाउनु नपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।
जेनजी आन्दोलनपछि पहिलोपटक हिजो सार्वजनिक भएका उनले पार्टी केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै १५औं महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए । बैठकमा उनले तत्काल सभापति पद नछाड्ने घोषणा समेत गरे ।
बैठकमा देउवाले भनेका थिए‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवाहरू उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एक जना मुली रहँदैन। पार्टीमा पनि महेसा एकै जना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ– मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट मबाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ। त्यसमा द्विविधा छैन।’
हिजो उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेको बताउँदै नियमित महाधिवेशन हुने भन्दै १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताएका थिए ।
मंसिरमा देउवाको ४ वर्षे कार्यकाल सकिने भएकोले नियमित महाधिवेशन मंसिरमै गर्नुपर्ने देखिन्छ । यसअघि कांग्रेसमा २०७८ मंसिरमा १४ औं महाधिवेशनमा भएको थियो ।
देउवाले तोकेकै मितिमा महाधिवेशन हुने बताएकाले विशेष महाधिवेशनको अर्थ नरहेको पनि केही नेताहरु बताउँछन् ।