काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मौजुदा शासकीय स्वरूप (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री–राष्ट्रपति सहितको व्यवस्था) को पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर रहेको बताएकी छन्।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान शासकीय स्वरूप फेर्न संविधान संशोधन आवश्यक पर्ने भएकाले आगामी निर्वाचनपछि बन्ने सरकारले मात्रै उक्त काम पूरा गर्न सक्ने बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको चुनाव नै सरकारको मूल लक्ष्य भएको स्पष्ट सन्देश दिएकी छन् । त्यसका लागि उनले राजनीतिक दलसहित सबैलाई चुनावमा भाग लिन र सहयोग गर्न अह्वान गरेकी छन् ।
उनले जेनजीका केही अगुवाहरु लगायतले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र संविधान संशोधन लगायतको माग अहिले पुरा नहुने स्पष्ट उल्लेख गर्दै संविधान संशोधनको आवश्यक परे चुनावपछि मात्र नयाँ बन्ने संसद्ले गर्न सक्ने उनले स्पष्ट पारिन् ।
त्यसका लागि प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा युवा पुस्तालाई सक्रिय सहभागी हुन र त्यसपछि प्राप्त हुने जनादेशका आधारमा संविधान संशोधन अगाडि बढाउन आग्रह गरेकी हुन्।
उनले भनिन्–‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकालेले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु ।’
जेन–जी आन्दोलनपछि बनेका सरकारले प्रदेशको संरचनामाथि पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री कार्कीले चुनावमार्फत नै त्यसको सम्बोधन गर्न भनेकी हुन्।
त्यस्तै उनले जेनजी आन्दोलनका क्रममा अनाहकमा ज्यान गुमाएका घटनामा दोषी उपर सख्त कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्।
उनले भनिन्–‘जेनजी आन्दोलनका क्रममा अनाहकमा ज्यान गुमाएको घटनामा सम्बद्ध दोषी उपर सरकार सख्त कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।’
‘फागुन २१ गते चुनाव सम्पन्न गर्न सरकारले आवश्यक जनतक्ति सुरक्षा कानुनी व्यवस्थाका लागि प्रारम्भिक काम सुरु गरिसकेको छ,’ उनले भनिन्,’ युवा पुस्ताको आकांक्षाको प्रतिनिधित्व गर्दै चुनावमा भाग लिन र चुनावलाई सहयोग गर्ने राजनीतिक दलसहित सबैलाई आह्वान गर्छु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।