काठमाडौं । कानून व्यवसायीबाट एक्कासी गृहमन्त्री बन्ने अवसर पाएका ओमप्रकाश अर्याल यतीबेला गृह प्रशासन बुझ्नै भ्याएका छैनन् । आन्दोलनका घाइतेको भेटदेखि क्षतिग्रस्त संरचनाको निरीक्षणमै उनी व्यस्त छन् ।
देशको कठिन समयमा गृह मन्त्रालयको कार्यभार सम्हालेका उनका लागि निर्वाचनसम्मको यात्रा त्यती सहज छैन ।
सामान्य अवस्थामा भन्दा धेरै चुनौतीपूर्ण कामहरु उनले गर्नुपर्ने छ । गृहप्रशासनको अनुभव नभएकाले पनि उनलाई यसमा कठिन हुनसक्ने जानकारहरु बताउँछन् ।
यस्ता छन् उनका ५ चुनौतीः
१. प्रहरीको मनोबल बढाउने
आन्दोलनकारीको आक्रमणमा परेर नेपाल प्रहरी संगठन यतीबेला कमजोर अवस्थामा छ । एकातर्फ प्रहरीतर्फ मानवीय क्षति भएको छ भने अर्कोतर्फ़ तीन सय भन्दा धेरै कार्यालयहरु क्षतिग्रस्त बनेको छ । अझै ६४ जना प्रहरी त अस्पतालमा छन् ।
यस्तो अवस्थामा प्रहरीको मनोबल बढाउन गृहमन्त्रीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसका लागि स्रोत साधन दिनेदेखि प्रहरीलाई स्वचालित रुपमा सञ्चालन हुन दिनुपर्ने हुन्छ । चुनावको समयमा धेरै झै झगडा हुनसक्छन् ।
मनोबल गिरेको प्रहरी त्यसरी फिल्डमा खटिएमा चुनावी हिंसामा ठूलो जोखिम हुन्छ । त्यसकारण गृहमन्त्री अर्यालले प्रहरीको मनोबल बढाउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
२. जेननी सहिदका परिवारलाई न्याय दिने
अर्याल जेनजीको आन्दोलनकै बलमा गृहमन्त्री पदमा पुगेका हुन् । त्यसकारण जेनजीको एजेन्डा छाड्न उनले मिल्दैन । भदौ २३ गतेको आन्दोलनमा जसरी युवा तथा बिद्यार्थीहरुमाथि गोली प्रहार गरियो त्यसका दोषीमाथि छानविन गरेर कारबाही गर्नैपर्छ । खासगरी यसमा राजनीतिक नेतृत्वमाथि कारबाही नगरेमा फेरि अर्को आन्दोलन नहोला भन्न सकिन्न ।
३. आन्दोलनमा भएको ज्यादतीको निष्पक्ष छानविन गर्ने
आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति भएको छ । छानीछानी अदालतदेखि राष्ट्रपति कार्यालयसम्म जलाइएको छ ।
यस्ता गतिविधिमा संलग्नमाथि कारबाही नभएमा भोलिका दिनमा देशमा कानुनी शासन कायम नहुन सक्छ । आन्दोलनका नाममा जे गरे पनि उन्मुक्ति पाइन्छ भन्ने सन्देष जान्छ ।
अझै नेताहरुको घरमा आक्रमण गर्नेहरुको हकमा पनि अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन नसके भोलिका दिनमा प्रतिशोधको राजनीति बढ्न सक्छ ।
साथै, चुनावमा राजनीतिक दलले असहयोग गर्न सक्छन् । नेतामात्र होइन कतिपय व्यवसायीका घर र कार्यालयमा समेत ठूलो क्षति पुर्याइएको छ । त्यसको निष्पक्ष अनुसन्धान गर्नु उनको महत्वपूर्ण जिम्मेवारीमा पर्दछ ।
४. गृह प्रशासनमा सुधारको सुरुवात गर्ने
अहिलेको आन्दोलन भनेको मुलतः भ्रष्टाचारविरुद्ध हो । सरकारी कार्यालयमा घुसबिना काम नहुने विषयमा जनताको आक्रोश छ । सेवा दिनेमध्ये जिल्ला प्रशासन र प्रहरी गृह मातहत छन् ।
त्यसकारण उनले जनताको मागअनुसार गृह प्रशासनमा केही न केही सुधारको सुरुवात गर्नुपर्ने हुनन्छ । जनताले अनुभव गर्ने गरी उनले केही सुधार गर्न सकेनन् भने उनीप्रति पनि आक्रोश बढ्न सक्छ ।
५. निष्पक्ष निर्वाचन गराउने
अहिलेको सरकारको मुख्य जिम्मेवारी निष्पक्ष र भयरहित निर्वाचन हो । त्यसका लागि अहिले बिग्रिएको शान्ति सुरक्षाको अवस्थालाई सामान्य अवस्थामा फर्काउनु छ ।
हजारौं कैदीहरु जेलबाहिर रहेकाले उनीहरुलाई तत्काल पक्राउ गर्नुपर्ने छ । त्यसका लागि स्रोत साधन दिएर प्रहरीलाई सक्रिय बनाउनुपर्ने हुन्छ ।
अबका केही हप्ता गृहमन्त्रीको फोकस यही विषयमा हुनुपर्ने प्रहरी अधिकारी बताउँछन् । अहिले शान्ति सुरक्षाको अवस्थामा नियन्त्रणमा लिइएन भने चुनाव गराउन समेत कठिन हुनेछ ।
साथै निर्वाचनका लागि उनले सबै दलसँग समन्वय गरी विश्वासमा लिनुपर्ने हुन्छ । उनीसँग राजनीतिक अनुभव छैन । चुनावका लागि सबैसँग समन्वय गरेर अघि बढुनपर्ने गृहका प्रशासकहरु बताउँछन् ।