काठमाडौँ । संकट र कर्फ्युकाबीच पनि उपत्यकाको ऐतिहासिक इन्द्रजात्रा यस वर्ष विधिपूर्वक सम्पन्न भएको छ ।
आठ दिनसम्म चल्ने यो प्रमुख सांस्कृतिक पर्व सोमबारदेखि रोकिएको रथयात्राका कारण अनिश्चिततामा परेको थियो ।
तर, आज जीवित देवी कुमारी, गणेश र भैरवको विधिवत् पूजा सम्पन्न गरी वसन्तपुरमा लिङ्गो ढालिएसँगै जात्रा औपचारिक रूपमा सम्पन्न भएको हो ।
गत बिहीबार हनुमानढोका दरबार क्षेत्रमा विशेष विधिसहित सुरु गरिएको जात्रा सामान्यतया अन्तिम दिन महिलाहरूले रथ तानेर समापन गर्ने परम्परा रहेको छ । नेवारी भाषामा नानीचायाः भनिने यस विधि भने यसपटक कर्फ्यु र राजनीतिक संकटका कारण सम्पन्न हुन सकेन ।
यद्यपि, परम्परागत विधि अनुसार पूजा सम्पन्न भएपछि जात्रा सफलतापूर्वक सम्पन्न भएको बताइएको छ ।