धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका १७ वर्षीय जुम्ल्याहा दाजुभाइ जेफ भण्डारी र जाबेज भण्डारी जन्मेदेखि कहिल्यै अलग भएनन् ।
जन्मको पहिलो रोदनदेखि लिएर जीवनका हरेक क्षणसम्म उनीहरू सँगै हुर्किए । तर, विडम्बना त के भने उनीहरूको अन्तिम यात्रा पनि एउटै दिन, एउटै नदीको भेलमै टुंगियो ।
बिहीबार उनीहरू सातजना साथीहरूसहित गोदावरी नगरपालिका–९ खुटिया नदीको झोलुंगे पुलनजिकै जन्मदिन मनाउन गएका थिए । उमेरका किशोरहरूझैँ रमाइलोको उत्साह र साहस सहित उनीहरू नदीको पारीपट्टी पुगे ।
त्यहाँ उनीहरूले खानेकुरा खाए, हाँसे–खेलाए र फर्कँदै गर्दा हात समातेर नदी तर्ने निर्णय गरे । तर त्यो निर्णय नै चार परिवारका लागि जीवनभरको पीडा बन्यो ।
नदीको तीव्र भेलले जेफ र जाबेजसहित दुई साथीहरूलाई बगायो । क्षणभरमै नदीमा हराउँदै गए उनीहरू । उनीहरूसँगै धनगढी उपमहानगरपालिका–५ हसनपुरका प्रतीक चौधरी र तारानगरका १७ वर्षीय सक्षम जोशीले पनि जीवन गुमाए ।
बाँकी तीन साथीहरु नवीन बुडाल, युवराज कुँवर र प्रकाश मल्ल भने सकुशल बाहिरिन सफल भए । मृतकमध्ये तीन जना वाल्मीकी इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलका विद्यार्थी थिए ।
सुरक्षा निकायले उद्धारपछि चारै जनाको शव सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । पोष्टमार्टमपछि उनीहरु सबैको आज अन्त्यष्टि गरिएको बताइएको छ ।