काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा मनसुन थप सक्रिय भएको छ।
पछिल्लो २४ घण्टामा सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् अत्यधिक वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार पर्वतको पञ्चासेमा पनि १७९ दशमलव तीन मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा मापन हो। यस्तै, बाँकेमा पनि १४६ दशमलव तीन मिलिमिटर वर्षा भएको छ।
यसैगरी दाङमा १३८, दार्चुलामा १०७, सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ भने १२ भन्दा बढी स्टेशनमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ। धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ।
विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि भने केही कम हुने बताइन्।
आज मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।