काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताएका छन्।
राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यसबारे जानकारी गराएका हुन्। मन्त्री लेखकले २ हजार ८ सय ९९ जना घाइते भएको बताए।
द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको जानकारी दिए।
लेखकले भने- 'द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको छ’, ‘घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिँदै आएको छ ।'
गृहमन्त्री लेखकले परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारको निर्णय बमोजिम हुने गरेको बताए।