काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको छ।
नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ। २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो । कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । नेप्से गत फागुन १९ गते यताको उच्च हो। फागुन १९ मा नेप्से २८७६ विन्दुमा थियो।
बिहीबार बजारमा १६ अर्ब ५९ करोड रूपैयाँको कारोबार भएको छ। यसअघि २०८१ भदौ ११ मा १८ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो। त्यसयता कारोबार रकम १६ अर्ब ५९ करोड कट्न सकेको थिएन।
कारोबार रकम यो अघिल्लो दिन अर्थात् बुधबारको तुलनामा १८ प्रतिशतले धेरै हो। बुधबार बजारमा १४ अर्ब तीन करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बढाएको सेयर धितो कर्जाको एकल ग्राहक सीमा लगायतका व्यवस्था आजैबाट लागु भएको, बैंकहरूको ब्याजदर घटेको लगायतका कारणले बजारमा सकारात्मक प्रभाव परेको हो।
सेयर धितो कर्जाको एकल ग्राहक सीमा १५ करोडबाट बढेर २५ करोड रूपैयाँ पुगेको छ।
कारोबारमा आएका सबै समूहगत परिसूचक बढेको छ। अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढे ।
तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको ७.२८ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुगेको छ ।