काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटिएफ) को खैरो सूची (ग्रे लिष्ट) बाट बाहिर निकाल्न शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्व पौडेलले नेपाललाई ग्रे लिष्टबाट चाँडो बाहिर निकाल्न कार्ययोजनाअनुसार अनुसन्धान, अभियोजन र कारबाहीलाई प्रभावकारी बनाउने बताएका हुन् ।
मौद्रिक नीतिमा भनिएको छ–‘एफएटिएफको सघन निगरानी सूची अर्थात् खैरो सूची (ग्रे लिस्ट) बाट मुक्त हुन नेपाललाई प्राप्त कार्ययोजनाबमोजिमका कार्य सम्पन्न गर्न सम्बद्ध निकायबीच प्रभावकारी समन्वय गरिनेछ । राष्ट्र बैङ्कसँग सम्बन्धित राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका लागि निगरानी, अनुसन्धान र कारबाहीलाई थप सबल बनाइनेछ ।’