काठमाडौं । विगत आठ दिनदेखि बन्द रहेका सुन पसल आजबाट सञ्चालनमा आएका छन् ।
विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ ।
यसका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिने सहमति भएको छ ।
उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारी रहनेछन्।
कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहने सहमतिपत्रमा उल्लेख छ।
सहमतिसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ ।
आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।
जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो ।
यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।