काठमाडौं । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्याएको हो ।
अब माउन्टेन कम्पनी प्रालिसँग यो नयाँ हेलिकप्टरसहित तीनवटा हेलिकप्टर हुनेछन् ।
उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए ।
उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको हो । अहिले तातोपानी भन्सार नाकामा जाँचपासको प्रक्रिया चलिरहेको छ ।
हेलिकप्टरका पंखा लगायतका पार्टपूर्जा खोलेर ४० फिटे कन्टेनरमा लोड गरेर भन्सारसम्म ल्याइपुर्याइएको हो ।
माउन्टेन हेलिकप्टर कम्पनीका अनुसार अब जाँचपासपछि त्यहीँ फिट गरेर उडाएरै काठमाडौं ल्याउने तयारी छ ।
भुसालका अनुसार तातोपानी भन्सार नाका हुँदै कम्पनीले पहिलोपटक हेलिकप्टर ल्याएको बताए । यसअघि कम्पनीले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएको थियो ।
समुद्री बाटोबाट कलकत्ता बन्दरगाह हुँदै ल्याउँदा झण्डै एक महिना लाग्ने भएपछि चीनको बाटो हुँदै तातोपानी भन्सार नाकाबाट हेलिकप्टर ल्याइएको कम्पनीले जनाएको छ ।