काठमाडौं । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो ।
प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । तर, ग्यासको व्यावसायिक उत्पादनको विषयमा भने थप अनुसन्धान गर्नुपर्ने उनले बताए ।
दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेको थियो ।
चिनियाँ पक्षले नेपाललाई सहयोग स्वरूप सम्झौता गरेर गरेको अध्ययनको समय सकिएर फर्किसकेको छ ।
चिनियाँ पक्षसँग जानकारी माग गर्दा अध्ययन गरेको ठाउँमा मिथेन ग्यासको सम्भावना रहेको जानकारी प्राप्त भएको बताए । तर, अब अध्ययन गर्नको लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
प्रारम्भिक अनुमानले मिथेन ग्यास रहेको भन्ने देखाए पनि कति छ भन्ने कुरा भने अहिले अनुमान गर्न नसकिने उनले बताए ।
आगामी डिसेम्बरसम्म प्रारम्भिक अध्ययनको पूर्ण नतिजा आइपुग्ने पनि प्रवक्ता नापितको भनाइ छ ।