काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रहरु गरेका छन् ।
दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युतको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
सन् १९९९ अघि नेपालको कुल विद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेकोमा निजी क्षेत्र प्रवेश गरेको २५ वर्षमै आज नेपालले ३ हजार ५०० मेगावाट विद्युत् उत्पादन क्षमता पुर्याएको उनले बताए ।
नेपालले प्राप्त गरेको यस उपलब्धिमा फ्रान्सको पनि साथ र सहयोग रहेको स्मरण गराउँदै कार्कीले द्विपक्षीय सम्बन्ध, वित्तीय उपकरण, प्राविधिक सहयोग र संस्थागत विकासमा नेपाल र फ्रान्सले सहयकार्य गरिरहेको पनि बताए ।
त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले वित्तीय सहयोग गरेको कार्कीले स्मरण गराएका थिए । यस परियोजनाका लागि फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलरको ऋण उपलब्ध गराएको थियो ।
आगामी १ र २ असोजमा आयोजना हुन गइरहेको पावर समिट २०२५ मा सहभागी भई नेपाललाई क्षेत्रीय बजारमा ऊर्जा आपूर्ति गर्ने मुलुकको रूपमा स्थापित गर्ने दिशामा साथ र सहयोग गर्न पनि कार्कीले आग्रह गरेका थिए ।