काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले विचौलिया प्रवृत्ति अन्त्य नभएसम्म अर्थतन्त्र थप संकटमा पर्ने बताएका छन् ।
राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरुले बिचौलिया भन्दै आएको उनले स्पष्ट पारे ।
उनले भने, ‘हामीले बिनालगानी राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर फाइदा लिने प्रवृत्तिलाई बिचौलिया भनेका हौं । कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरेका होइनौं । यो प्रवृत्ति परिवर्तन नगरेसम्म आर्थिक सुधार सम्भव छैन ।’
बिचौलिया प्रवृत्ति रोक्न नसके मुलुकले आर्थिक रुपमा अझै नराम्रो अवस्थाको सामना गर्नुपर्नेमा पुनले जोड दिए ।