काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको दाबी गरिएको छ ।
शुक्रबार काठमाडौंमा श्वेत पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको बताएका हुन्।
उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ ।
तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको शाक्यले बताए।
उनले हाल प्राधिकरणसँग नगद मौज्दात नभएकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।