काठमाडौं । यो साता सेयर बजार १.९४ प्रतिशत बढेको छ ।
गत साता २६७० अंकमा रहेको बजार यो साता २७२२ अंकमा पुगेको छ । गत साता बजार १.२२ प्रतिशत घटेको थियो ।
यो साता नयाँ वर्षको पहिलो दिन भएकाले सोमबार सार्वजनिक बिदा रह्यो । वर्ष २०८२ सुरु भएपछि तीन दिन कारोबार भएकामा सबै दिन बजार बढेको छ ।
पहिलो दिन आइतबार ८.६२ अंक घटेको बजार त्यसपछि लगातार बढ्यो । मंगलबार २७.१४, बुधबार ७.०१, बिहीबार २६.४९ अंक बढ्यो ।
समग्रमा २०८२ सालमा कारोबार भएका तीन दिनमा बजार ६० अंक बढ्यो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।
आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा मंगलबार ८ अर्ब ५४ करोड, बुधबार ७ अर्ब २६ करोड तथा बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएको छ ।
यो साता लगानी समूह सबैभन्दा धेरै ७.३३ प्रतिशत बढ्यो । मुख्यतः यो सेक्टरमा रहेका तीन कम्पनीको मूल्यमा भएको उच्च वृद्धिले सेक्टरलाई उचालेको छ । यो सेक्टरमा जम्मा ७ कम्पनी सूचीकृत छन् ।
तीमध्ये तीन कम्पनी एचआईडीसीएल, निफ्रा र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्यमा आएको वृद्धिले समग्र सेक्टरलाई उचालेको हो । यो साता एचआईडीसीएल १३ तथा निफ्रा १२ प्रतिशतभन्दा धेरै बढ्यो ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको यो साता ११.८९ प्रतिशत मूल्य बढेर हालसम्मकै उच्च १९ सय रुपैयाँ पुगेको छ ।
यी तीन कम्पनीसहित यो सेक्टरका सबै नागरिक लगानी कोष, सीईडीबी होल्डिङ्स, इमर्जिङ नेपाल र हाथवे इन्भेस्टमेन्ट कम्पनीको पनि मूल्य बढ्यो ।