Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • गभर्नर नियुक्तिमा गगन थापाले संकेत गरेका बिचौलियाहरू को–को हुन् ?

    गभर्नर नियुक्तिमा गगन थापाले संकेत गरेका बिचौलियाहरू को–को हुन् ?

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 2.5K
    SHARES

    काठमाडौं । एक साताअघि नै हुनुपर्ने नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको लम्बियै छ । गभर्नर महाप्रसाद अधिकारी गत चैत २२ गते शुक्रबार आफ्नो ५ बर्षीय कार्यकाल सकेर बिदा भएपछि सरकारले नयाँ नियुक्ति गर्न नसक्दा बजारमा बिचौलियाहरु हावी भएका समाचारहरु छरपष्ट छन् ।

    विचौलियाहरुकै स्वार्थका कारण गभर्नर नियुक्तिको मापदण्डसमेत परिवर्तन गरिएको छ । गभर्नर नियुक्तिमा उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सदस्यको हकमा ३५ वर्ष पूरा भई ६५ बर्ष ननाघेको हुनुपर्ने व्यवस्था रहेकोमा उक्त उमेरहद सम्बन्धी व्यवस्था खारेज गरिएसँगै विचौलियाहरुको प्रभाव बढेको हो । गत २७ फागुनमा सरकारले मापदण्ड संशोधन गर्दै उक्त व्यवस्था खारेज गरेको थियो ।



    राष्ट्रबैंकको गभर्नर बन्न दर्जनौं व्यक्तिहरु दौडधुपमा लागेका छन् । सरकारले ६५ बर्ष नाघेका पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र डा. रविन्द्र पाण्डेमध्ये एकलाई गभर्नरर बनाउन यो मापण्डण्ड संशोधन गरेको भन्दै राष्ट्र बैंकभित्रबाटै विरोध भइरहेको छ ।

    गभर्नरकै लागि नविल बैंकको सीइओबाट राजीनामा दिएका व्यापारी तथा सांसद विनोद चौधरीनिकट ज्ञानेन्द्र ढुंगाना, राष्ट्र बैंककै कर्मचारी गुणाकर भट्ट र नीलम ढुंगाना तथा अवकाशको एक साताअघि राजीनामा दिएका राष्ट्रबैंकका अर्का कर्मचारी डा. प्रकाश श्रेष्ठ पनि दौडधुपमा लागिरहेका छन् ।

    क्षेत्रीलाई त प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भनेर चिनिएका विचौलिया दीपक भट्ट र बुढानीलकण्ठको नाममा चलखेल गर्ने रामचन्द्र भट्टले गभर्नर बनाउन ३० करोड भन्दा माथि चलखेल गरेका समाचारहरु समेत बाहिर आएका छन् ।

    तर, भुटानी शरणार्थी काण्डमा बद्नामी कमाएकी परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र उनको समूहले भने विचौलियाद्वय भट्टहरुको बारेमा भएको प्रचारको बारेमा कुनै खण्डन गरेकी छैनन् ।

    प्रधानमन्त्री ओलीको सचिवालयले पनि विचौलियाहरुको चलखेलको विषयमा केही बोलेको छैन । क्षेत्रीको बारेमा बजारमा धेरै हल्ला चलेपछि विचौलियाद्वय दीपक र रामचन्द्र भट्टले गुणाकर भट्टलाई अगाडि सारेको स्रोत बताउँछ । गुणाकरलाई रामचन्द्र भट्टले आर्थिक कबोल गर्न आग्रह गर्दा उनले आफू आर्थिक चलखेल गरेर गभर्नर नबन्ने जवाफ दिएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

    मन्त्रिपरिषद्ले गभर्नर नियुक्तिको सिफारिसका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य रहेको सिफारिस समिति बनाएको थियो । तर, सत्तारुढ प्रमुख दलका शीर्षनेताबीच नै गभर्नर बनाउने कुरामा सहमति नबन्दा विचौलियाहरुको चलखेल ह्वात्तै बढेर गएको हो । जुन कुरालाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत प्रष्ट पारेका छन् ।

    महामन्त्री थापाले काठमाडौंमा मंगलबार विहान आयोजित एक कार्यक्रममा बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै गरेको दाबी गरेका थिए । उनले भनेका छन्–‘निजी क्षेत्र र बिचौलिया फरक विषय हो । पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएको छ ।’

    महामन्त्री थापाले यसअघि पनि सरकारले गरेका नियुक्तिका विषयमा प्रश्न उठाएका छन् । उनले भनेका छन्–‘आजभोलि त मन्त्रिपरिषद्को बैठक बसेपछि डर लाग्न थालिसक्यो, मन्त्रिपरिषद्ले केही निर्णय गरिदिन्छ, अनि दुःख हामीले ब्यहोनुपर्ने हो कि भन्ने डर लागिरहन्छ ।’

    महामन्त्री थापाले यसअघि पनि सरकारले गरेका सरुवा, बढुवा र नियुक्तिका विषयमा प्रश्न उठाउँदै गभर्नर नियुक्तिमा विचौलिया हावी भएको दावी गरेका थिए । स्रोतका अनुसार कांग्रेसभित्रकै केही नेताहरुले गभर्नरलगायतका ठूला नियुक्ति र ठेक्काकपट्टामा दीपक भट्ट र रामचन्द्र भट्टले आर्थिक चलखेल गरी सरकारको बद्नाम गराएको सूचना दिएका छन् ।

    दीपक भट्टको विषयमा त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता वर्षमान पुनले बारम्बार बिचौलियाहरुले सरकारलाई प्रभावमा पारेको भन्दै नाम लिंदै आएका छन् ।

    प्रचण्डले त संसदमा सम्बोधन गर्दा नै सरकारको ड्राइभिङ सिटमा बिचौलिया बसेको बताएका थिए । धितोपत्र बोर्ड, वीमा प्राधिकरणको अध्यक्ष, नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को नियुक्तिमा बिचौलियाको चलखेल भएको बिषयतर्फ प्रचण्डको संकेत थियो ।

    त्यसो त रामचन्द्र र दीपक भट्ट बदनाम बिचौलिया हुन् । द टीम्बर कर्पोरेसन अफ नेपाल(टीसीएन)का जागिरे रामचन्द्र पूर्वमुख्यसचिवत्रय लोकदर्शन रेग्मी, शंकरदास बैरागी र डा. बैकुन्ठ पौडेलका पनि बिचौलिया हुन् । रेग्मी, बैरागी र अर्याललाई मुख्यसचिव बनाएर उनले धेरै सेटिङका काम गरेका थिए ।

    त्यतिबेला प्रधानमन्त्री कार्यालयमा कार्यरत एक सहसचिवका अनुसार रेग्मी त मुख्यसचिव हुँदा भट्टको फोन आएपछि गोप्य कोठामा गएर वार्ता गर्ने गर्दथे । धिरजप्रताप सिंह नेपाल प्रहरीको आईजीपी हुँदा उनलाई गाडी र चालकसमेत दिएका थिए ।

    १७ महिना कनिष्ट सिंहलाई आईजीपी बनाउने जिम्मा उनै भट्टले लिएका थिए । बुढानीलकन्ठनिकट कांग्रेसका एक नेता भन्छन्–‘रामचन्द्र भटट्ले हरेक नियुक्तिमा शेरबहादुर देउवालाई मात्र नभई डा आरजु राणा र उनका भाइ भूषणलाई मिलाउने भन्दै सेटिङमा दौडिने गरेका छन् । यो कुरा राणा दिदीभाइले बुझेका छन् कि बुझेर पनि बुझ पचाइरहेका छन् ? त्यो भने खुल्नसकेको छैन ।’

    ती नेताका अनुसार आईजीपीकै गाडीमा बसेर देउवालाई भेट्न लैजाने समेत हैसियत समेत रामचन्द्रले राख्ने गरेका छन् । देउवाको निवासमा उनलाई बेरोकतोक प्रवेशको ब्यवस्था हुनुुले पनि रामचन्द्रले जे गरे पनि बुढानीलकन्ठले आँखा चिम्लने गरेको छ ।

    त्यस्तै अर्का बिचौलिया दीपक भट्ट भने ओलीनिकट भनेर चिनाउने गर्दछन् । त्यसो त उनी माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मादेखि वर्तमान अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई निर्देशन दिने हैसियत राख्छन् ।

    पौडेलको निवासमा राति राति जाने गरेका दीपक भट्ट सुरुमा प्रहरीका ठेक्कापट्टाबाट उदाएका बिचौलिया हुन् । समय र बदलिंदो राजनीतिक परिस्थिति तथा प्रविधिलाई प्रयोग गर्न माहिर भट्ट पछिल्लो समय जलबिद्युत आयोजनाका लाइसेन्स माफियाका रुपमा चिनिन्छन् ।

    उनको ओलीसँग कति घनिष्टता छ भन्ने उदाहरण आफ्नै दाजु सुशील भट्टलाई लगानी बोर्डको अध्यक्ष बनाएबाटै पुष्टि हुन्छ । सेबोनको अध्यक्षमा ब्यापारीक साझेदार रमेश हमाल र उनीपछि सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गराउन उनले गरेको चलखेल सबै जगजाहेर नै छ ।

    नागरिकता कीर्ते गरेका सूर्य सिलवाललाई वीमा प्राधिकरणको सीईओ बनाई हिमालयन पुनर्वीमा कम्पनीको लाइसेन्स जारी गराउने काम पनि दीपक भट्टले गरेका थिए ।

    जुन लाइसेन्स प्रकरणमा १ अर्ब घुसको चलखेल भएको सार्वजनिक रुपमा आएको थियो । पछिल्लो समय प्रशारण लाइनको ठेक्कामा प्रवेश गर्दैगरेका भट्ट थर्मल गन समूहका सुलभ अग्रवालको समूहसँग मिलेर नयाँ स्टकको लाइसेन्स लिने दाउमा छन् ।

    आवरणमा हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउँदा ऊर्जामन्त्री दीपक खड्का देखिए पनि भित्री योजनाकार उनै भट्ट नै रहेको स्रोत बताउँछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार