काठमाडौं । आज आइतबार अन्तर्राष्ट्रिय शून्य फोहर दिवस मनाइँदैछ ।
मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै विश्वभर यो दिवस मनाइँदैछ ।
विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवं प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकहरूबाट प्रत्येक वर्ष २.१ अर्ब देखि २.३ अर्ब टन ठोस फोहर उत्पादन भइरहेकाले संसारलाई फोहरमुक्त बनाउने प्रयासस्वरूप सन् २०२२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
प्लाष्टिक प्रदूषण एवं अन्य फोहरका कारण उत्पन्न हुने संकटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने भएकाले यो वर्ष कपडा उत्पादन तथा परिधान उद्योगमा शून्य फोहर नाराका साथ यो दिवस मनाइँदै छ ।